२०८२ फाल्गुन २८ , बिहिवार

‘स्तरोन्नतिपछिको बाटो उत्पादनमा केन्द्रित हुनुपर्ने’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभाका सदस्य डा अञ्जान शाक्यले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठालाई नयाँ उचाइमा पु¥याउने बताउनुभएको छ । ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ माथि राष्ट्रियसभामा आज भएको छलफलमा उहाँले नेपालले मानव सम्पत्ति र आर्थिक जोखिमजस्ता विश्वव्यापी मापदण्डहरू पूरा गरेर यो उपलब्धि हासिल गरेको भन्दै यो सबै नेपालीका लागि गौरवको क्षण भएको पनि उल्लेख गर्नुभयो । “यो स्तरोन्नतिसँगै हामीले अतिकम विकसित राष्ट्रको हैसियतमा पाइरहेका केही सुविधाहरू कटौती हुनेछन् । व्यापारमा केही चुनौती थपिन सक्छन् र केही अन्तरराष्ट्रिय सहयोगमा कमी आउन सक्छ । तर, हरेक चुनौतीले अवसरको ढोका पनि खोल्दछ”, उहाँले भन्नुभयो, “हाम्रो देशको ‘क्रेडिटरेटिङ’मा सुधार हुँदा वैदेशिक लगानीका लागि थप अनुकूल वातावरण बन्नेछ ।

विश्व बैंक, एसियाली विकास बैंकजस्ता बहुपक्षीय संस्थाहरूबाट प्राप्त हुने सहयोगमा खासै असर नपर्ने र भारत, चीन, बेलायतजस्ता हाम्रा मित्रराष्ट्रहरूसँगको द्विपक्षीय सम्झौतामार्फत सहयोगलाई निरन्तरता दिन सकिने बलियो आधार रहेको उहाँको भनाइ छ । विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले प्रतिवेदन तयार पारेको हो । उपसमितिको संयोजक सदस्य शाक्य हुनुहुन्थ्यो । उक्त उपसमितिको सदस्यहरुमा सांसदहरु वामदेव गौतम, जीतजङ्ग बस्नेत, भुवनबहादुर सुनार र सावित्री मल्ल रहनुभएको थियो । उपसमितिले प्रतिवेदन लामो समयको छलफल र अध्ययनबाट तयार पारेको संयोजक शाक्यको भनाइ छ । प्रतिवेदन तयार पार्न राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, संयुक्त टे«ड युनियन महासङ्घ, निजी क्षेत्रलगायत सरोकारवाला निकायसँग छ वटा बैठक बसेर छलफल गरेको जनाइएको छ ।
रासस