
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ । बैठकका लागि रास्वपा नेता र सांसदहरु मंगलबार नै भैरहवा पुगेका थिए । सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि नेताहरु दलको बैठकमा बसेका हुन् । संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ ।‘संसदीय दलको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुनेछ’ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने ।
परियारका अनुसार पार्टीका नेता र सांसदहरु आज–भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् । रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको प्रमुख सचेतक परियारले जानकारी दिए । पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिसकेकाले आवेदन दिने म्याद पूरा भइसकेपछि मात्रै उम्मेदवारबारे छलफल हुने उनको भनाइ छ ।त्यो बेला संगठन निर्माण गरिनसकेको रास्वपाले अहिले वडा तहसम्म संगठन निर्माण गरिरहेको छ । रुपन्देही क्षेत्रनम्बर ३ का ३६ वटा वडामै हस्ताक्षर अभियान सञ्चालन गरेको पार्टीले यो क्षेत्रमा मात्रै करिब २० हजार हस्ताक्षर संकलन गरिसकेको क्षेत्रीय सभापति मधु अर्यालले बताए ।