
सुनाखरी न्युज/ हेटौंडा ।
नेपाली कांग्रेस बागमती प्रदेशअन्तर्गत संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन्। संसदीय दलमा लामाले विश्वास गुमाएको तथा २२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ।
संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । उनको विपक्षमा २२ मत परेको पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।