
सुनाखरी न्युज/ काठमाडौं ।
भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । उपराष्ट्रपति धनखडले कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै सोमबार राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिनुमा स्वास्थ्यको कारण देखाएका छन् । उनी ७४ वर्षका छन् । उनको कार्यकाल १० अगष्ट सन् २०२७ सम्म थियो ।
राष्ट्रपति द्रौपदी मुर्मुलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्,‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’
उनले आफूलाई हालसम्म सहयोग गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै प्रधानमन्त्री एवम् मन्त्रिपरिषद सदस्यप्रति आभार व्यक्त गरेका छन् ।
सन् २०२२ मा जगदीप धनखडले भारतको १४ औं उपराष्ट्रपतिको रुपमा शपथग्रहण गरेका थिए ।