२०८२ फाल्गुन २८ , बिहिवार

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा, एमालेमा बढ्यो विवाद

UML Polite Beuro

सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण विवादमा परेको छ । पोलिटब्युरो बैठकमा शनिबार  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरणबारे टुंगो नलागेको बताएका हुन् ।

राजनीतिमा सक्रिय हुने उद्देश्यले भण्डारीले वैशाख २०८१ मा सदस्यता नवीकरण गरेकी थिइन् । तर, प्रक्रियागत त्रुटि भएकाले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा रहेको ओली पक्षको भनाइ छ । पार्टी विधानको धारा ८ (३) अनुसार पार्टी सदस्यता त्यागेर राष्ट्रपति भएकाले नयाँ प्रक्रियाबाट सदस्यता लिनुपर्ने ओली पक्षको दाबी छ ।

‘पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण पेन्डिङमा छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यसबारे थप छलफल गर्ने निर्णय भएको छ ।’

भण्डारी पक्षले भने विधानको धारा ९ (३) अनुसार पार्टीले विशेष काममा खटाएकाले कुनै कमिटी वा निकायमा संगठित नरहे पनि सदस्यता कायम रहने तर्क गरेको छ । त्यसअनुसार सदस्यता स्वतः नवीकरण गरिएको भण्डारी पक्षको भनाइ छ । भण्डारीले गत १४ असारमा मदन भण्डारीको ७४औं जन्मजयन्तीमा पार्टी सदस्यता नवीकरण गरेकाले एमालेमा जोडिएको जानकारी दिएकी थिइन् ।

सभामुखको विषयमा सदस्यता स्थगित हुने भएकाले नवीकरण हुने तर राष्ट्रपति, उपराष्ट्रपतिको हकमा सदस्यता परित्याग गर्नुपर्ने भएकाले नयाँ सदस्यता लिनुपर्ने उनको तर्क गरे । ‘मुलुकको संवैधानिक प्रश्नलाई ध्यानमा राखेर छलफल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले भने ।

भण्डारीलाई एमालेमा सक्रिय हुन विधानले नछेकेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको तर्क छ ।

एमालेको विधानको धारा ८ र ९ मा सदस्यताबारे व्यवस्था छ । धारा ८ ९३० मा ‘स्वेच्छाले सदस्यता परित्याग गरेको व्यक्तिले पुनः सदस्यता लिन चाहेमा सुरु प्रक्रिया पूरा गरी लिन सक्ने’ उल्लेख छ ।