२०८२ फाल्गुन २६ , मंगलबार

ट्रम्पलाई पाकिस्तानपछि इजरायलले गर्‍यो नोबेल शान्ति पुरस्कारका लागि मनोनयन

donald trump

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् । नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी गराएका थिए।

नेतन्याहूले भने, ‘म तपाईंलाई मैले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र देखाउन चाहन्छु । यसमा तपाईंलाई शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ, जसका तपाईं पूर्णरूपले हकदार हुनुहुन्छ र तपाईंले यो पाउनु पर्छ।’

 

ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गरेका प्रयासहरूलाई मध्यनजर गर्दै आफूले यो निर्णय गरेको नेतान्याहूले जानकारी दिएका छन् ।

यसअघि पाकिस्तान सरकारले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ। भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग पुर्‍याएको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो ।

 

 

नोबेल पुरस्कार २०२६ का लागि आधिकारिक मनोनयन प्रक्रिया सेप्टेम्बरमा सुरु हुने बताइएको छ। २०२५ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयनको अन्तिम समय जनवरी ३१ सम्म थियो।

२०२५ को शान्ति पुरस्कारका लागि ३३८ जना मनोनयनमा परेका थिए, जसमा २४४ व्यक्ति र ९४ संस्था थिए । सन् २०२३ मा २८६ जना मनोनयन भएका थिए भने सन् २०१६ मा हालसम्मकै उच्च ३७६ मनोनयन भएका थिए ।

नोबेल पुरस्कारको वेबसाइटअनुसार, कुनै पनि विधामा मनोनयनमा परेका व्यक्तिहरूको नाम ५० वर्षसम्म गोप्य राखिन्छ । कतिपय देश र संस्थाहरूले आफ्नो मनोनयनलाई सार्वजनिक गर्ने गर्छन् । यसअघि इमरान खानलाई मनोनयन गर्ने संस्थाले सार्वजनिक रूपमा नाम खुलाएको थियो ।