
सुनाखरी न्युज / काठमाडौं ।
प्रधानसेनापति अशोकराज सिग्देलले अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर समावेश छन् । त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रधानसेनापति सिग्देललाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन सहज भएको बताउनुभयो । यसैबीच नेपाली सेनाले हिमालको प्राकृतिक सौन्दर्यलाई जीवन्त तुल्याउन केही वर्षदेखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट छ वर्षमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ ।
नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा अघिल्लो वर्षमात्रै सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार २२६ किलो कुहिने र आठ हजार ७७४ किलो नकुहिने फोहर सङ्कलन गरिएको थियो । अभियानलाई सफल बनाउन पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, नेपाल पर्वतारोहण सङ्घ र फोहर व्यवस्थापनमा सहयोग गर्ने सङ्घसंस्थाको योगदान महत्वपूर्ण रहिआएको छ । नेपाली सेना पाँच दशकदेखि प्रकृति र पर्यावरण संरक्षणमा लागेको र कूल सैनिकको १० प्रतिशत जनशक्ति वातावरण संरक्षणमा खटिएको छ । संसारका कुनै पनि मुलुकमा रक्षा बललाई पर्यावरणीय सुरक्षा सहयोग कार्यमा लगाइएका घटना विरलै भएकाले नेपालको अभ्यास अरुका लागि उदाहरणीय ‘मोडल’ रहेको बताइएको छ ।
रासस