२०८२ फाल्गुन २५ , सोमवार

नेपाल आउने विदेशी पर्यटकको संख्या कमी

tourist pokhara

सुनाखरी न्युज/ काठमाडौं ।

पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने र विदेशी पर्यटकका लागि अनेक सुविधा आवश्यक रहेको छलफल हुने क्रम बढे पनि पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा औसत मासिक १ लाखका दरले पर्यटक आगमन भइरहेको बेला मे महिनामा भने ८६ हजार २१६ मात्र पर्यटक आए । बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म ५ लाख १ हजार २६४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्वतारोहणको मुख्य सिजन मानिने मे महिनामै पर्यटकको संख्या कमी आउनु भनेको सरकारी निकायको कार्यशैली सुधार गर्नु हो भन्ने कुरा पुष्टि हुने अर्का पर्यटन व्यवसायी रमेश शर्मा बताउँछन् ।

पछिल्लो चार महिनामा हवाईमार्गमार्फत नेपाल आउने विदेशी पर्यटक घटेका छन्। सन् २०२५ को पहिलो चार महिना ( जनवरी, फेब्रुअरी, मार्च र अप्रिल)  मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा हवाईमार्गबाट आउने पर्यटकको संख्यामा १।२८ प्रतिशतले कमी आएको नेपाल पर्यटन बोर्डको विवरणमा उल्लेख छ। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार फेब्रुअरीमा आएको पर्यटक संख्या २०२४ सोही अवधिको तुलनामा ०।६ प्रतिशतले कम हो । त्यो बेला ९७ हजार ४ सय २६ पर्यटक नेपाल आइपुगेका थिए । सन् २०१९ को मार्चमा चीनबाट आउने पर्यटकको संख्या १७ हजार ३ सय थियो ।

तर सन् २०२५ मा आईपुग्दा यो संख्या घटेर ११ हजारमा झरेको छ । कोभिडअघि भारत र चीनबाट आउने पर्यटकको संख्या उस्तै थियो । तर कोभिडपछि भने भारतीय पर्यटक पुरानै अवस्थामा फर्के पनि चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । त्यस्तै सन् २०२४ मा भारतबाट आउने पर्यटकको संख्या ३० हजार थियो तर सन् २०२५ मा ३० प्रतिशतले घटेर २१ हजार ४ सयमा सीमित भएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को मार्चमा ३० देशबाट आउने पर्यटक घटेका छन् । ५ महिनादेखि १० घण्टा बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि १८ घण्टा सञ्चालनमा आएपछि भने पर्यटक आगमन बढ्ने अपेक्षामा व्यवसायी छन् ।