
सुनाखरी न्युज/ काठमाडौं ।
सुर्खेतको वीरेन्द्रनगरस्थित विमानस्थलको धावनमार्गको भुईँबाट अचानक पानी निस्किन थालेपछि मंगलबारदेखि हवाई सेवा ठप्प भएको छ।जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज आउजाउ बन्द गरिएको हो। रनवेमा खाल्डो परेपछि गत मंगलबारदेखि उडान रोकेर मर्मत सम्भार भइरहेको छ।
खाल्डो पुर्ने काम भइरहेको बेला पुनः अर्को स्थानबाट पानी निस्किएपछि सुरक्षाका कारण विमानस्थल अस्थायी रूपमा बन्द गरिएको काफ्लेले बताए। हाल ती क्षेत्र पुरिँदै छन् र शनिबारसम्म सबै मर्मत कार्य सक्ने लक्ष्य लिएको उनले बताए। त्यसपछि मात्रै उडान पुनः सुरु हुने स्पष्ट पारिएको छ। अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘के कारण आयो, त्यो त भौगर्भिक अध्ययनले देखाउला,’ उनले भने, ‘भासिएको छ, माथितिर डाँडाकाँडा र वरपर खोला पनि छन् । तल सतहमा पानी रहेछ, खोतल्दा त्यो देखियो ।’ विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ ।
अहिले भासिएको क्षेत्रमा धावनमार्ग विस्तार गर्ने तयारी पनि छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा विस्तार कार्यअघि बढ्दा स्थानीय जनप्रतिनिधि, वीरेन्द्रनगरका राजनीति दलका नेता तथा स्थानीयहरूले सहयोग नगरेपछि विस्तार कार्य रोकिएको थियो ।