
सुनाखरी न्युज/ काठमाडौं ।
सगरमाथा संवादका सहभागीहरुको सम्मानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जेठ ३ गते शनिबार साँझ काठमाडौंमा आयोजना गर्नुभएको नेपाली सांस्कृतिक भोज सहभागी विदेशी पाहुनाहरुले निकै रुचाएका छन् । सातै प्रदेशका मुख्य मुख्य रैथाने परिकार तथा पेय पदार्थ प्रस्तुत गरिएको सो रात्रीभोज नेपाल पर्यटन बोर्ड र होटल संघ नेपालको संयोजनमा तयार पारिएको थियो ।
रात्रीभोजमा नेपालका लोकप्रिय थकाली, नेवारी, हिमाली, पहाडी तथा मधेशीलगायतका खानाका परिकारहरु होटल संघ नेपालका विशेषज्ञ सेफहरुको अगुवाईमा सोल्टी होटलमा तयार भएका हुन् । कार्यक्रममा लोक नृत्य तथा संगीतबाट पाहुनाहरुको स्वागत गरिएको थियो । यस कार्यबाट मुलुकको खाना पर्यटनलाई अझ मजबुत ढंगबाट विश्व व्यापी प्रवद्र्धन हुने जनाउँदै होटल संघ नेपाललले गर्दै आएको मुलुकको रैथाने खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनमा मजबुत बल पुगेको बताइएको छ ।