
सुनाखरी न्युज/ काठमाडौं।
सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत नुनको कारोबार खुला गर्न लागेकोप्रति सत्ता साझेदार नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै आम नेपालीलाई सर्वसुलभमा नुन आपूर्ति सरकारले नै गरिरहेको अवस्थामा व्यापारीलाई नुनको कारोबार दिन नहुने बताएको हो।
कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख समेत रहेका केन्द्रिय सदस्य गुरु बरालले जारी गरेको विज्ञप्तिमा नेपालीको स्वास्थ्य र आर्थिक रुपमा समेत अहित हुने सम्भावनालाई ध्यानमा राखी नुनको आपूर्ति व्यवस्था अहिलेकै अवस्थामा राख्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।
यसअघि राष्ट्रिय उपभोक्ता मञ्चले पनि नुनको कारोबार खुला गर्ने सरकारी चलखेलको विरोध गरेको थियो।
यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीको प्रभावमा परी आगामी आर्थिक वर्षको बजेटमार्फत नुनको कारोबार निजी क्षेत्रलाई दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका थिए।
उद्योगी मोतिलाल दुगड आपूर्ति राज्यमन्त्री भएका बेलासमेत नुनको कारोबार निजी क्षेत्रका लागि खुला गर्ने नीति बजेटमार्फत ल्याएका थिए।
त्यसको चौतर्फी विरोध भएपछि लागू भएको थिएन। तैपनि उद्योगी दुगडले अवैध रुपमा नुनको कारोबार गर्दै आएका छन्। उनले गरिरहेको नुनको अबैध कारोबारको उपभोक्ता अधिकारकर्मीले विरोध गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्: