
सुनाखरी न्युज/ काठमाडौं ।
लुम्बिनी प्रदेश सरकारले बाँकेको बैजनाथ गाउँपालिकामा निर्माण सुरु गरेको मानसरोवरको प्रतीकात्मक उद्यान अलपत्र परेको छ । विसं २०७६ फागुन ५ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले बैजनाथ–६ स्थित न्यू हरियाली सामुदायिक वन क्षेत्रमा मानसरोवरको प्रतीकात्मक उद्यान बनाउने योेजनाको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि निर्माणले गति लिन सकेको छैन । करिब रु पाँच करोडभन्दा बढीको लागत लाग्ने अनुमान गरिएको उक्त योजनामा हालसम्म रु दुई करोडभन्दा बढी खर्च भइसकेको छ । अन्य सहायक संरचना निर्माण गरिए पनि मानसरोवर प्रतीकात्मक पार्क निर्माण हुन नसकेको स्थानीय नन्द विश्वकर्माले बताउनुभयो । प्रदेश सरकारको बेवास्ताका कारण उक्त पार्क अलपत्र परेको उहाँको भनाइ छ ।
पार्क निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा रु ६३ लाख ४४ हजार बजेट खर्च गरिएकामा आव २०७७/७८ मा रु ५० लाख, आव २०७८/७९ मा रु ४० लाख, आव २०७९/८० र आव २०८०/८१ मा रु १० लाख विनियोजन भएको पर्यटन कार्यालय कोहलपुर बाँकेका प्रमुख टङ्कनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा ३० लाख बजेट विनियोजन भएको छ । उहाँका अनुसार यस वर्षको बजेटबाट मानसरोवरको प्रतीक बनाउन ठेक्का आह्वान गर्न लागिएको छ । आव २०७८÷७९ सम्म वन मन्त्रालयअन्तर्गतको डिभिजन वन कार्यालयले बजेट खर्च गरेकामा त्यसपछिका वर्षदेखि पर्यटन डिभिजन कार्यालय कोहलपुरले उक्त योजनाको बजेट खर्च गर्दै आएको छ । विगतमा खर्च भएको बजेटबाट मानसरोवरको प्रतीक नबनाई पोखरी, पर्खाल र दलित सङ्ग्रहालय बनाउने उद्देश्यले एक भवन र केही प्रतीक्षालय निर्माण भएको छ । निर्माण गरिएका संरचना पनि कति भत्किन थालेका छन् भने भवनका झ्याल तोडफोड गरिएका छन् । पार्कको गेट खुलै हुँदा संरचनाको दुरूपयोग भइरहेको स्थानीय न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामकुमार रानामगरले बताउनुभयो ।
निर्माण भएका संरचनाका संरक्षणबारे प्रदेश सरकारले आफूहरूसँग कुनै सहकार्य नगरेको रानामगरको भनाइ छ । सामुदायिक वनमा मानसरोवरको प्रतीक बन्न लागेकोमा उत्साहित भएका स्थानीयहरू योजना अलपत्र परेपछि निराश हुन थालेका उहाँले उल्लेख गर्नुभयो ।मानसरोवरको प्रतीकात्मक बोटानिकल गार्डेन पार्क नाम दिइएको उक्त योजनाको मुख्य संरचना तिब्बतमा रहेको कैलाश मानसरोवरको जस्तै प्रतीकात्मक पहाड निर्माण गर्ने रहेको नेपालगञ्जका पर्यटन व्यवसायी भाष्कर काफ्लेले बताउनुभयो । भारतको मानसरोवर जानका लागि विभिन्न स्थानबाट यहाँ आउने पर्यटकहरूलाई उक्त पार्कसम्म आउने वातावरण बनाउने तथा मानसरोवर जान नसक्ने पर्यटकलाई केन्द्रित गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । यस क्षेत्रको पर्यटनको भविष्य मानसरोवरका तीर्थयात्रीसँग जोडिएको भन्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको उक्त पार्क अलपत्र पर्नु दुःखद् विषय भएको काफ्लेले बताउनुभयो । यथाशीघ्र पार्क निर्माणमा सरोकार भएका निकाय, तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
रासस