२०८३ बैशाख २८ , सोमवार

पौवादुङमामा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवद्र्धन कार्यक्रम’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भोजपुरको पौवादुङमा गाउँपालिकामासुरुआत भएको छ । उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै पहिलो पटक यो कार्यक्रम सुरुआत भएको हो । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षलागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परीक्षण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रु चालिस लाख, गाउँपालिकाको रु बीस लाख र दायित्व संस्थाको रु पन्ध्र लाख गरी कूल रु ७५ लाखको लागतका कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।  यो कार्यक्रम अन्तर्गत उद्यमीहरुको छनोट, सशक्तीकरण, व्यावसायिकीकरण र बजारीकरणमा सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।

“त्रिपक्षलागत साझेदारीमा हाम्रो गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका छौँ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो,“यो कार्यक्रम अन्तर्गत यहाँका उद्यमीहरुको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणको लागिसमेत प्रोत्साहन गरिने छ। ।” प्रारम्भिक चरणमा चालिस उद्यमी छनोट गरिने र त्यसबाट क्रमशः २० र दश गरेर उत्कृष्ट दश जना उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि आवश्यक सहयोग गरिने अधिकृत भट्टराईले जानकारी दिनुभयो । नमूना कार्यक्रमका रुपमा कोशी प्रदेशमा रहेका एक सय ३७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा मात्र कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।यो कार्यक्रम भोजपुरको पौवादुङमा गाउँपालिका, खोटाङको एँेसेलुखर्क गाउँपालिका, इलामको फाक्फोकथुम गाउँपालिका, झापाको गौरादह नगरपालिका र सुनसरीको रामधुनी नगरपालिकामा मात्र पाइलट प्रोजेक्टका रुपमा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ ।

प्रदेश सरकारले वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवद्र्धनका लागि प्राथमिकता साथ यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । “उद्यमशीलता र रोजगारी वृद्धिका लागि यो निकै महत्वपूर्ण कार्यक्रम छ” अध्यक्ष राईले भन्नुभयो,“जिल्लाका नौ वटा स्थानीय तहमध्ये यो वर्ष पौवादुङमा गाउँपालिका मात्र यो कार्यक्रम सुरुआत भएको छ । यसले यहाँका विभिन्न उद्यमसँग जोडिएकालाई आवश्यक सहयोग गर्नेछ ।” यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नको लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले यहाँ नै बसेर सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम अन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योगलगायतको प्रवद्र्धन तथा विकासको क्षेत्रमा काम गरिने गाउँपालिकाले जनाएको छ । छनोटमा परेका उद्यमीलाई ५० प्रतिशत अनुदानमा मागको आधारमा प्रविधिसमेत हस्तान्तरण गरिने गाउँपालिकाको भनाइ छ ।

रासस