
सुनाखरी न्युज/ काठमाडौँ ।
बागमती प्रदेश सरकारका मन्त्रीद्वय कुन्दनराज काफ्ले र मीनकृष्ण महर्जनले आज ललितपुरको गोदावरी बहुउद्देश्य रङ्गशालाको निरीक्षण गर्नुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री काफ्ले र युवा तथा खेलकुदमन्त्री महर्जनले निर्माणाधीन सो रङ्गशालाको अवलोकन तथा निरीक्षण गरी गुणस्तरीय कामसहित यथासक्य छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । सो अवसरमा रङ्गशालाको पूर्वाधार, विकास–निर्माण, उपयोग र सम्भावनाका बारेमा जानकारी लिँदै उहाँहरूले प्रदेश सरकारको प्राथमिकतामा रहेको सो रङ्गशालाको निर्माण तथा स्तरोन्नतिका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गोदावरी नगरपालिकाको पहलमा निर्माण भएको सो रङ्गशालामा राष्ट्रियस्तरका फुटबल प्रतियोगितासमेत भएको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । करिब दुई वर्षअघि निर्माण प्रक्रिया सुरु भएको सो रङ्गशाला निर्माणका लागि करिब रु तीन करोड खर्च भएकामा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले एक लाख ३६ हजार अमेरिकी डलर सहयोग गरेको पनि जानकारी दिनुभयो । यसैगरी, सङ्घीय सरकार र प्रदेश सरकारले नीतिगत व्यवस्थासहित आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । ललितपुर जिल्लाको चापागाउँ बसपार्क नजिक रहेको सो रङ्गशालाको खेलमैदान तयार गर्ने काम पूरा भए पनि दर्शक बस्ने प्यारापिटसहित अन्य पूर्वाधार निर्माणका काम बाँकी रहेको नगरपालिकाले स्पष्ट गरेको छ ।
रासस