२०८३ बैशाख २४ , बिहिवार

रवि आज पनि अदालत उपस्थित हुँदै, थुनछेक बहस जारी

ravi lamichhane

 

सुनाखरी न्युज/ काठमाडौं ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि अदालत उपस्थित हुँदैछन् ।गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो । शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

शुक्रबारबाट लामिछाने पक्षका तीन वकिलले बहस गरेका थिए ।  रविको पक्षमा नाम टिपाएका वकिलहरूको बहस सकिएपछि सरकारी र जाहेरवाला तर्फका वकिलले जबाफी बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

काठमाडौँमा उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी लगायत ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा लामिछानेको बयान सकिएपछि थुनछेक बहस जारी छ । सो प्रक्रिया समेत सकिएपछि उनको मुद्दामाथि आदेश हुनेछ ।