
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमका सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारहरुबाट आमजनमानसमा सिर्जना भएको भ्रम निवारण तथा यथार्थ जानकारी दिनका लागि निगमले प्रेस विज्ञप्ति जारी गरेको छ ।
१. निगमका अन्तर्राष्ट्रिय तर्फ ३ वटा जहाज नियमित सञ्चालनमा छन् भने एउटा A 330, 9N-ALY जहाज इटालीमा C-Check Maintenance भएर 2024 August सम्ममा आइपुग्ने योजना रहेको छ ।
२. आन्तरिक तर्फ एउटा Twin-Otter जहाज नियमित सञ्चालनमा छ भने अर्कोको इन्जिन मर्मत गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेकोले आगामी वडा दशैंमा यात्रुहरुलाई नियमित उडान मार्फत् सेवा प्रदान गर्ने गरी काम भइरहेको छ ।
३. चीनियाँ जहाजको सन्दर्भमा विभिन्न समयमा गठित अध्ययन समितिहरुको सिफारिसको आधारमा उक्त जहाजहरु सञ्चालन गर्न प्राविधिक, व्यवसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, विमा खर्च तथा इन्धन खपत अत्याधिक रहेको, सिमित यात्रु वहन क्षमता र जगेडा पाटपुर्जामा समस्या रहेको, यि जहाजहरु सञ्चालनमा रहँदा आ.व २०७१/०७२ देखि २०७५/२०७६ सम्म यि जहाजहरुको सञ्चालन घाटा रु.७७,७४,१०,१४३/- र कुल घाटा रु.१,९०,६९,३३,११४/-भएको र अझै सञ्चालनमा राखिरहँदा निगमलाई आर्थिक बोझको रुपमा दायित्व थप हुँदै गएको र विभिन्न प्राविधिक कठिनाई समेत झेलिरहनु परेको कारण जनाउँदै तत्कालिन माननीय मन्त्री योगेश भट्टराईज्यूको कार्यकालमा मिति २०७७/०३/१६ मा निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुशिल घिमिरेज्यूको अध्यक्षतामा बसेको निगम सञ्चालक समितिको बैठकले उक्त जहाजहरु मिति २०७७/०४/१५ देखि सञ्चालनमा नल्याउने निर्णय गरेको थियो ।
तत् पश्चात उक्त जहाजहरुलाई व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न विकल्प सहित तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलज्यूद्धारा गरिएको पत्राचार अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७७/१२/०४ को निर्णय बमोजिम लिजमा दिन वा विक्री प्रक्रिया अगाडि बढाउन मिति २०७७/१२/१२ मा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत् निर्देशन भएको थियो ।नेपाल सरकारको निर्देशानुसार Lease Out गर्नको लागि नियमानुसार दुई पटक प्रस्ताव आह्वान गरिएकोमा एउटा पनि प्रस्ताव पर्न नआएकोले र विक्री गर्न पनि दुई पटक नै प्रस्ताव आह्वान गर्दा समेत कुनै प्रस्ताव पर्न नआएकोले सो को आवश्यक जानकारी तालुक मन्त्रालयमा पेश भएको अवस्था छ ।
४. निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात २०८१ आषाढ सम्मको अवधिमा ५ अर्व ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।
साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन र समय समयमा हुने ब्याजदरको Base Rate घट्दा सो समेत समायोजन हुने व्यवस्था गरिदिन निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।
५. जहाज खरिद सम्झौता बमोजिम टिकट विक्रिवापत आम्दानीको तोकिएको हिस्सा विशेष कोष खडा गरी राख्नुपर्ने सम्वन्धमा जहाज संंचालनमा आएको केहि समय पश्चात विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले र जहजका नियमित तथा आकस्मिक मर्मत सम्भारका खर्च वढेको हुंदा पर्याप्त नगद प्रवाहको अभावका वावजुद पनि कोष खडा गरी किस्ता भुक्तानी भइरहेको छ ।
६. अन्तर्राष्ट्रिय वजार, निगमसंग भएको जहाजहरुको उपलव्धता र प्रतिस्पर्धाको आधारमा जहाजहरुको अधिकतम उपयोग हुने र बढि आम्दानी गर्ने गरी निगमले नियमित उडान गर्दै आइरहेको छ ।
७. विविध कारण लामो समय देखि हुन नसकेकोे A-330 जहाजहरुको नियमित C-Check Maintenance को लागि आवश्यकMRO छनौट कार्य सम्पन्न भई मर्मत कार्य भइरहेको छ भनेA-320 जहाजहरुका लागि आवश्यकMRO छनौट कार्यको टेन्डर प्रक्रिया शुरु भइसकेको छ ।
८. नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्वर भन्दा बढीले वृद्धि भएको छ । महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आ.व २०७७/७८ मा रु.९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आ.व २०७८/७९ मा रु.१६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ । त्यसैगरी आ.व २०७९/८० को
प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ । यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ % ले वृद्धि गरेकोे छ ।
९. सात/आठ वर्षको अन्तरमा जहाजका इन्जिनहरुको मर्मत संभार तथा ओभरहल गर्नुपर्ने अवस्था आउने हुँदा यस्तो कार्य अनुरुप A-320 जहाजको ४ वटा इन्जिन मध्ये ३ वटा इन्जिनको मर्मत भइसकेको र एउटा मर्मत प्रक्रियामा रहेको इन्जिनको ९०% कार्य सम्पन्न भईसकेको हुँदा यसलाई ४ वटा ठूला प्रोजेक्टको रुपमा हेर्नुपर्ने भएकोले सोही अनुरुप स्वाभाविक रुपमा खर्च पनि बढ्न गएको देखिन्छ र यस्तो प्रकृतिको खर्चलाई निगमले दीर्घकालीन लगानीको रुपमा लिएको छ ।
मुलुकको हवाई क्षेत्रमा निगमले पु¥याउँदै आएको सेवा, अफगानिस्तानमा भएको उद्दार, कोभिड माहामारीको वखत चीनको वुहानबाट नेपालीहरुको उद्दार, इजरायलबाट नेपालीहरुको उद्दार, जाजरकोटमा गएको भुकम्पबाट भएका घाइतेहरुको उद्दार जस्ता विभिन्न विपद् तथा संकटमा राष्ट्रिय ध्वजावाहकको योगदान तथा मुलुकको पर्यटन प्रवद्र्धनमा खेल्दै आएको भूमिका महत्वपूर्ण विषय हो । उक्त कुरालाई मध्यनजर गर्दै निगमको वर्तमान व्यवस्थापनले राष्ट्रिय ध्वजावाहकको गुणात्मक सुधारको लागि उल्लेखनीय कार्यहरु इमान्दारीताका साथ गर्दै आएको छ ।