२०८३ जेठ ४ , सोमवार

समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण

prar

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याप्रति सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद चन्द्रबहादुर विश्वकर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई स्वच्छ पेयजलको व्यवस्था गर्न माग गर्नुभयो । सांसद अनिता देवीले डेङ्गी र हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको बताउँदै रोग नियन्त्रणतर्फ लाग्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

सांसद अनिशा नेपालीले आदिवासी जनजाति, मुस्लिम र मधेसीका सवालमा गम्भीर भएर काम गर्न सरकारसँग अनुरोध गर्नुभयो । सांसद अम्मरबहादुर रायमाझीले उदयपुर जिल्लाबाट तथ्याङ्क कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, खानेपानी डिभिजन, सहकारी डिभिजन, कार्यालय अन्यत्र नसार्न माग गर्नुभयो ।सांसद अर्जुन नरसिंह केसीले बङ्गलादेशको राजनीतिक घटनानक्रमबाट आफूहरूले सिक्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अशोककुमार चौधरीले भ्रष्टाचारजस्तो जघन्य अपराधमा ५ वर्षको हदम्याद राखेर उन्मुक्ति दिननहुने बताउनुभयो ।सांसद आस्माकुमारी चौधरीले दाङलगायत सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको प्रबन्ध गर्न माग गर्नुभयो ।सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा ऐन, नियम,नियमवाली, निर्देशिकाको कार्यान्वय नभएमा दुःख व्यक्त गर्नुभयो ।

सांसद कुसुमदेवी थापाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका नटुवा समुदाय पहिचानको खोजीमा रहेका तथा तीनहजार ६२ जनाको यो लोपन्मुख जातिको संरक्षणको माग गर्नुभयो ।सांसद डा चन्द्रकान्त भण्डारीले सुरक्षा निकाय र प्रशासन भएपनि बालबालिका हराउने प्रवृत्ति नरोकिएकामा चिन्ता व्यक्त गर्नुभयो ।सांसद छिरिङ लामा तामाङले धरहरा निर्माण भएर उद्घाटन भइसक्दा पनि सञ्चालनमा नआएकोप्रति चासो व्यक्त गर्नुभयो ।सांसद जावेदा खातुन जागाले बर्दिया जिल्लाका स्थानीयप्रति प्रहरी असहिष्णु बनेको आरोप लगाउनुभयो । रासस