२०८३ जेठ ५ , मंगलबार

मैले पोल्याण्डको नागरिकता लिएको छैन: शिक्षामन्त्री

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन्।युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो ।

त्यसबारे स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा भिडियो राखेकी मन्त्री श्रेष्ठले आफूसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको बताइन् । पोल्याण्डका नागरिकसँग बिहे गरेकी श्रेष्ठलाई त्यही देशको पीआर लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

आफ्नो श्रीमान पोल्याण्डको नागरिक भएको, तर आफूले त्यहाँको पनि नागरिकता नलिएको उनले बताइन् । मन्त्री श्रेष्ठले भनेकी छन्, त्यसको प्रक्रिया समेत थाहा थिएन ।उनले आफ्ना विरुद्धमा उजुरी परेपछि मात्रै पीआर तथा ग्रिन कार्ड लिने प्रक्रियाका बारेमा बुझेको बताइन् ।

‘म जति दिन मन्त्री भएको छु, त्योभन्दा पनि कम समय पोल्याण्ड बसेकी छु । पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने रहेछ । त्यसका विषयमा बुझ्न मलाई १० देखि १५ घण्टा समय लाग्यो,’ उनले भनिन् ।