२०८३ जेठ ५ , मंगलबार

नेपाल वायुसेवा निगमको सुधार प्रयास जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताउनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले निगमको सञ्चालन र व्यस्थापनमा सुधार गर्न गठित समितिको प्रतिवेदनअनुसार उपयुक्त ढाँचामा सञ्चालनका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्री तमाङले निगमको व्यवस्थापन सुधारका लागि मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदन अनुरुप काम गर्न लागिरहेको बताउनुभयो ।

पर्यटनमन्त्री तामाङले क्षेत्रीय सन्तुलनलाई ध्यानमा दिएर मन्त्रालयले कार्यक्रमको माग, औचित्य र आवश्यकताका आधारमा बजेट तर्जुमा गरिएको बताउनुभयो । उहाँले संवैधानिक व्यवस्था अनुरुप समावेशी रुपमा सबै भाषा र संस्कृतिको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । संस्कृत भाषाको संरक्षण र प्रवद्र्धन गर्ने विषयमा मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था गरेको भन्दै मन्त्री तामाङले नेपालका सबै भाषा, संस्कृति र कलाको संरक्षण र प्रवर्चनतर्फ मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापनका लागि निर्देशिका जारी गरिएको तथा पशुतिनाथको मूर्ति सार्वजनिक गर्न मिल्ने नमिल्ने विषयमा मन्दिरको परम्परालाई समेत आधार मानेर आवश्यक निर्णय गरिने बताउनुभयो ।धार्मिक पर्यटनको हिसाबले अत्यन्त महत्वपूर्ण लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र रामजानकी मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि मन्त्रालयले बजेट व्यवस्थापन गरेको तथा रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्ने लगायतका कार्यक्रम यस वर्षको बजेटबाट अघि सारिएको उल्लेख गर्नुभयो ।

भारत र चीनमा पर्यटन प्रवद्र्धन
पर्यटनमन्त्री तामाङले भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट ‘रोड शो’लगायतका प्रचार–प्रसारका कार्यक्रम सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले पर्यटन रणनीतिक योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशक अनुरुप १६ लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी विकास कोषलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बुद्ध सर्किट मात्र नभई किराँत, शिव र रामायण सर्किटको विषयमा समेत समावेश गरिएको उहाँको भनाइ थियो । अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा पर्याप्त बजेट विनियोजन गर्न मन्त्रालय प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोमा पेस भइसकेको, यस क्षेत्रको अन्य सम्पदाको उत्खनन, विकास र उन्नयनमा पुरातत्व विभागमार्फत विभिन्न कामहरु भइरहेको उहाँले जानकारी दिनुभयो ।मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि मन्त्रालयले यसको सञ्चालनसम्बन्धी अध्ययन समिति गठन गरिएको र उक्त समितिको अध्ययन प्रतिवेदनको आधारमा ठोस कार्ययोजना बनाई सञ्चालनको उचित प्रबन्ध मिलाइने बताउनुभयो ।

मन्त्री तामाङका अनुसार हिमाल आरोहणलाई व्यवस्थित र नियमन गर्ने सम्बन्धी नयाँ नियमावली तर्जुमाका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । नेपालको हवाई सेवालाई सुरक्षित, भरपर्दो, विश्वसनीय, सुलभ र पहुँचयोग्य बनाउने हवाई नीति, २०६३ को समसामयिक संशोधन अन्तिम चरण पुगेको छ । सातवटै प्रदेशको प्रमुख सहरमा हवाई सेवा विस्तारलाई ध्यान दिइनुका साथै गोरखा दरबारको परम्परा र संस्कृति संरक्षणको विषयमा मन्त्रालय प्रतिबद्धताका साथ लागेको उहाँको भनाइ छ ।  रासस