
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ ।
परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ ।अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ ।यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टता प्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने बताए ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले साझेदारीको बारेमा आफ्नो उत्साह प्रकट गर्दै भने , “हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततःहाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवाप्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।”
“हामीले लिट्मस इन्डस्ट्रिजमा गरेको यो लगानी, आफु संलग्न उद्योगको नेतृत्व गर्न सक्ने र यथास्थितलाई बदल्दै नवप्रवर्तन मार्फत बजारको मागलाई सम्बोधन गर्न सक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण हो । हामी लिट्मस इन्डस्ट्रिजसँग नजिकबाट सहकार्य गर्न र उहाँहरूको सफलतामा योगदान पु¥याउन पाउँदा अत्यन्त उत्साहित छौं, ” अवसर इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र अवसर इक्विटी डाइभर्सिफाइड फण्डका लागि कोष प्रबन्धकश्री ध्रुव तिमिल्सिनाले आफ्नो धारणा व्यक्त गरे ।