२०८३ जेठ ६ , बुधवार

युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज आफ्नो किसान २ परियोजना सम्पन्न भएको अवसरमा आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आयवृद्धिको दिशामा परियोजनाले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू प्रदर्शन गरिएको थियो ।

जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३प्रतिशत सीमान्तकृत समूहका गरी २,७०,६००भन्दा बढी किसानहरूलाई सहयोग गरेको छ ।युएसएआईडी, नेपाल सरकार र निजी क्षेत्र बिचको बलियो साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि गरेको बताइएको छ।

किसान २ परियोजनाले १७७ फर्महरूसँग साझेदारी गरी लगभग ६००कृषि सल्लाहकारहरूलाई किसानहरूलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्याहउनुका साथै ३५,००० भन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको छ ।यस सहयोगले उत्पादन १३९प्रतिशतले बढाउन र४७ करोड ६०लाख अमेरिकी डलर बराबरको कृषिजन्य बिक्री गर्न मद्दत गरेको छ ।जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यासहरू र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै युएसएआईडीले किसानहरूलाई जलवायु परिवर्तनका प्रभावहरूको राम्रोसँग सामना गर्न सक्ने गरी सशक्त बनाएको छ ।

अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले भन्नुभयो, “नेपाली किसानहरूलाई उनीहरूको आयवृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्य पदार्थमा उनीहरूको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्य सुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपालको कृषिको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा हामी गौरवान्वित छौँ।”

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले भने, “युएसएआईडीको किसान २ परियोजनाले राइ समिल मोडेल र मेजएग्रिगेसन मोडेल प्रस्तुत गरेको छ, जसले मिलवाला र सङ्कलकहरूलाई किसानलाई सहयोग गर्न र उचित मूल्यमा उत्पादन खरिद गर्न मद्दत गर्दछ।राइस मिल मोडेलको सफलताका कारण यसलाई सरकारी निकायहरूले अपनाएका छन् ।किसान २ले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍याउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सहयोग पुर्‍यायो।नेपाल सरकारले अहिले दीर्घकालीन प्रयोगका लागि यस समीक्षा संयन्त्रलाई संस्थागत गरिरहेको छ।”

किसान २ परियोजनाको समापन समारोहमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन ज्ञान सामग्री र प्रविधि हस्तान्तरण गरिएको थियो ।यसले कृषिमा निजी क्षेत्रको भूमिका विस्तार गर्न, लगानी आकर्षित गर्न र नेपालमा कृषि उत्पादन तथा आर्थिक समृद्धि बढाउन मद्दत गर्ने जनाए ।कार्यक्रममा विभिन्न किसान र निजी क्षेत्रका निकायहरूको पनि सहभागिता रहेको थियो।सन्२०११देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले ८लाख भन्दा बढी नेपाली किसानहरूलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धि मार्फत आय बढाउन मद्दत गर्न१८करोड१०लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ।