२०८३ जेठ ७ , बिहिवार

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा हिमालयन लिटरेचर फेस्टिबल सुरु भएको छ । न्युयोर्क राइटर्स वर्कसप र ह्वाइट लोटस बुक सप ललितपुरको आयोजनामा ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा दुईदिने साहित्य महोत्सव सुरु भएको हो ।महोत्सवको आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि बेलायतका राजदूत रब फेनले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री चौधरीले फेस्टिबलले नेपाली साहित्यलाई विश्व साहित्यमाझ जोड्नका लागि पुलकारुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो । “फेस्टिबलमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालमाथि विचार विमर्श हुनु नेपाली साहित्य जगत्का लागि उपलब्धिमूलक हो”, उहाँले भन्नुभयो ।मन्त्री चौधरीले साहित्यमार्फत विश्वको वातावरण संरक्षण, जलवायु परिवर्तन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या, पर्यटन प्रवर्द्धनलगायत विषय उजागर गर्न साहित्यकारलाई आग्रह गर्नुभयो ।

नेपालका लागि बेलायती राजदूत फेनले विश्व साहित्यलाई नेपाली साहित्यमाझ जोड्नका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा आफ्नो कवितासमेत वाचन गरेर सुनाउनुभएको थियो ।मङ्गलबारसम्म सञ्चालन हुने उक्त फेस्टिबलमा नेपाल र अन्तर्राष्ट्रिय साहित्य लेखनका क्षेत्रमा समूहगत छलफल, कविता वाचन, पुस्तक विमोचन, नाटक मञ्चनलगायत कार्यक्रम हुने ह्वाइट लोटस बुक सपका संस्थापक युयुत्सु आरडी शर्माले जानकारी दिनुभयो । उक्त कार्यक्रम छुट्टाछुट्टै तीन क्षेत्रमा बाँडेर सञ्चालन हुनेछन् ।

सोही अवसरमा साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लिखित ‘चमेरो ः कोरोना कविता’ विमोचन हुने आयोजकले जनाएको छ । फेस्टिबेलमा नेपाल, पानामा, ग्रीस, बेलायत, अमेरिका, हङ्कङ, भारत, फिलिपिन्स, दक्षिण अफ्रिकालगायत देशबाट आएका लेखक तथा कविले आफ्नो सिर्जना प्रस्तुत गर्नुहुनेछ । महोत्सवमा पाँच महादेशका ३५ भन्दा बढी लेखकको सहभागिता रहेको छ ।  रासस