२०८१ असार ३ , आइतवार

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज पनि बस्दै

Karyadal Ravi

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मा सहमति नजुट्दा अघिल्ला बैठक निष्कर्षविहीन हुँदै आएका छन् । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यादेशको मस्यौदा ल्याउन भनेको थियो ।

मंगलबारको बैठकपछि कार्यदलका संयोजक एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कांग्रेस लचक बनेको भन्दै आगामी बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यदलमा नेकपा एमालेबाट पदम गिरी र महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपा नेता शिशिर खनाल छन् ।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् । गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।

कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ । संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।