२०८१ जेठ ७ , सोमवार

सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरूआत भएको छ ।सोलुदुधकुण्ड नगरपालिका–६ थातिङमा आज अभियानको सुरुआत गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले महिनावारी अभिसाप नभई बरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो ।

उहाँले अब घरघरमा महिनावारीका विषयमा सचेता जगाउनुपर्ने र त्यसमा सबै सरोकारवालाको साथ अपरिहार्य रहेको उहाँको भनाइ छ । “महिनावारी महिलाको स्वास्थ्यसँग जोडिएको प्राकृतिक प्रक्रिया हो । त्यसैले यसको नाममा महिलालाई छाउबार्न, घरभन्दा टाढा बस्न बाध्यपर्ने काम गर्नुहुँदैन ।

त्यसले निम्त्याउने जोखिमका बारेमा हामी सबै जानकार नै छ”, उहाँले भन्नुभयो,“अब महिनावारीको समयमा सरसफाइ तथा स्वच्छतामा ख्यालगरी यो प्रथालाई त्याग्न जरूरी छ ।” उहाँले अब महिनावारी शिक्षालाई ग्रामीणस्तरसम्म पुर्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

आयोजक संस्था सामाजिक संस्था ‘द स्मल वल्र्ड (टिएसडब्यू) का कार्यकारी निर्देशक सोनाम डोका शेर्पाले प्रजनन स्वास्थ्य महिलाको अधिकारभएकाले यसबारे खुलेर कुरा गर्न आग्रह गर्नुभयो । उहाँले महिला र महिनावारीविना सृष्टि अधुरो हुने भएकाले महिनावारीलाई उत्सवको रूपमा लिनुपर्ने उहाँको भनाइ छ ।दुई सप्ताहसम्म चल्ने अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।  रासस