२०८१ जेठ ७ , सोमवार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्कविहीन भएकोमा पीडितहरूले जाहेरी दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउमध्ये वकिल बहादुरले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका ६ बाट र धर्मेन्द्रलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।