२०८१ जेठ ६ , आइतवार

गोंगबुको होटलमा झुण्डिएको अवस्थामा महिलाको शव भेटियो

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।

गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो ।

तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरिका ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, भण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो । परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोत बताउँछ । भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।