२०८१ बैशाख १७ , सोमवार

आज चैते दशैं, गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा

bhadrakali-scaled

सुनाखरी न्युज/ पोखरा ।

आज चैते दशैं । चैते दशैंको अवसरमा  गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

 

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

 

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

चैते दशैंमा पनि दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ । काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।