२०८१ बैशाख २१ , शुक्रवार

कैदीबन्दी व्यवस्थापनमा समस्या

kaidi

सुनाखरी न्युज/ काठमाडौं ।

कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ । कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन् । कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार विगत १५ दिनदेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको हो । उहाँले भन्नुभयो, “अहिले कैदीबन्दीको चाप बढेसँगै १० जनालाई त्रिपालमुनि राखेका छौँ ।”

 

मौसममा आएको परिवर्तनसँगै कैदीबन्दीलाई व्यवस्थापनमा असहज हुने गरेको उहाँले बताउनुभयो । त्रिपालमुनि कैदीबन्दी राख्दा सुरक्षा व्यवस्थामा उच्च सावधानी अपनाइएको उहाँले जानकारी दिनुभयो । गर्मी मौसम सुरु भएसँगै जाडोमा व्यवस्थापन गरे जसरी व्यवस्थापन गर्न असहज हुने गरेको उहाँले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “छिमेकी जिल्ला नवलपुर ( बर्दघाट– सुस्तापूर्व)  कारागार कार्यालय नहुनुले पनि यहाँ कैदीबन्दीको चाप बढेको हो ।” छिमेकी जिल्लाबाट आएका कैदीबन्दी र जिल्लाबाटै आउने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । कारागारमा आएका कैदीबन्दीको व्यवस्थापनका लागि कारागार व्यवस्थापन विभागसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।रासस