२०८१ बैशाख ३१ , सोमवार

लहानमा आठ करोड लागतमा ड्रेन बन्ने

1689775338581

सुनाखरी न्युज/ काठमाडौं ।
सिरहाको लहान नगरपालिकाले रु आठ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । आज एक समारोहबीच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गर्नुभयो । लहान बजार सुन्दर बनाउने नगरको योजना बमोजिम ड्रेन निर्माण गर्न चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

 

“खुल्ला नहरले बजारक्षेत्र कुरुप बनाएको थियो । नहर व्यवस्थित नहुँदा बालबालिका र वृद्धवृद्धालाई आवतजावतमा जोखिम थियो, वर्षायाममा नजिकका घर जलमग्न हुने गरेका थिए,” नगर प्रमुख चौधरीले भन्नुभयो, “सुन्दर लहान बनाउने परिकल्पना अब साकार हुनेछ । ड्रेन निर्माणपछि नहरको दाँयाबाँया सडक र किनारमा बगैँचासमेत निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

 

लहान बजारको उत्तरतर्फ वडा नं १०, ६, ७, ८ को ग्रामीण चोक हुँदै मारवाडी टोल, घण्टाघर, हुलाक चोक हुँदै दक्षिणतर्फ बहने दुई किलोमिटर लम्बाईको नहरमा ड्रेन बन्ने वडा न। ७ का अध्यक्ष राम अवतार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ड्रेन निर्माणको ठेक्का सुलभ गुम्दा, पिपी जेभी कम्पनीले लिएको छ ।

 

 

व्यवस्थित पक्की ड्रेन निर्माणले दुर्घटनाको जोखिम न्यूनीकरणका साथै लामखुट्टे आतङ्क नियन्त्रणमा सहयोग पुग्ने नगरपालिकाका सरसरफाइ संयोजक तथा वडा नं ८ का अध्यक्ष श्याम शाहले बताउनुभयो । योजना एक वर्षभित्र पूरा हुने नगरपालिकाले जनाएको छ ।
रासस