२०८१ बैशाख २० , बिहिवार

पर्सामा सवारीसाधनको जरिवानाबाट उठ्यो रु डेढ करोड

note

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट रु एक करोड ५७ लाख ६९ हजार छ सय छ रकम राजस्व सङ्कलन गरेको बताउनुभयो । “गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा जरिवानाबापतको राजस्वको रकम केही घटेको छ”, उहाँले भन्नुभयो, “अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ । विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो । तर, अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।” ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उहाँको भनाइ छ ।

कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या ६४ सय २५ छ । ट्रकबाट रु ८८ लाख १९ हजार दुई राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट रु एक लाख ३० हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

त्यस्तैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने कार/जीप/भ्यानको सङ्ख्या एक हजार तीन सय २४ रहेको छ । ती सवारीसाधनबाट रु १२ लाख दुई हजार पाँच सय पाँच रकम राजस्व सङ्कलन भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ । ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ ।कार्यालयले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो ।  रासस