२०८१ बैशाख १५ , शनिवार

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

pm

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै उहाँले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने बताउनुभयो ।

“चालु आर्थिक वर्षको यस अवधिमा हामीले खासगरी जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्न सफल भएका छौँ, सुशासनको क्षेत्रमा पनि नयाँ पहल अघि बढाइएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तर, विकास निर्माणको क्षेत्रमा भने अपेक्षाअनुसार धेरै काम गर्नुपर्ने तथ्य आजको प्रगति विवरणले देखाएको छ ।”

राष्ट्रिय योजना आयोगले १६औँ योजना तर्जुमाको कार्य अन्तिम चरणमा पु¥याएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौतीलाई समाधन गरी ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को लक्ष्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बदलिँदो परिवेशमा गत हप्ता घोषणा गरिएको सरकारका नीतिगत प्राथमिकता र साझा सङ्कल्प आवधिक योजनाले समावेश गर्न आवश्यक छ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले आगामी आवदेखि कार्यान्वयनमा आउने १६औँ योजनालाई कार्यान्वयनयोग्य तथा रूपान्तरणकारी बनाउन निर्देशन दिनुभयो । समितिको ५२औँ बैठकमा आव २०८०÷८१ को पहिलो ६ महिनामा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा प्रदेश सरकारबाट भए गरेका कामकारबाहीको समीक्षा प्रस्तुत गरिएको छ । उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यमन्त्रीहरूलगायत उपस्थित विभिन्न व्यक्तिले आफ्ना भनाइ, राय प्रतिक्रिया राख्नुभएको थियो ।

सो बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछाने, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, सचिवहरुलगायतको उपस्थिति थियो ।  रासस