२०८१ बैशाख १५ , शनिवार

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् ।आजदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो ।

कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

यसैबीच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिनुभयो । “परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ”, उहाँले भन्नुभयो, “हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौँ ।”यस वर्ष सर्लाहीबाट एसइईमा १० हजार आठ सय ९६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार छ हजार सात सय ८३ छात्रा र चार हजार एक सय १३ छात्रले परीक्षा दिइरहेका हुन् । एक सय ५८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेका हुन् । जिल्लाका एक सय पाँच सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले एसइईमा सहभागिता जनाएका छन् ।

एकाइका अनुसार सामुदायिक विद्यालयबाट नौ हजार पाँच सय ६२ र संस्थागत तर्फबाट एक हजार तीन सय ३४ छात्रछात्रा एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख महतोले जानकारी दिनुभयो ।यस्तै जिल्लामा यस वर्ष ३८ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष ३७ परीक्षा केन्द्र तोकिएकामा यस वर्ष हरिपुर नगरपालिका–१ लक्ष्मीपुरस्थित रामऔतार लक्ष्मीनिया मावि हजारबिगाह थपिएर ३८ पुगेको समन्वय एकाइका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिनुभयो ।

कुशवाहका अनुसार यस वर्ष परीक्षा सञ्चालनका लागि यहाँ ३८ केन्द्राध्यक्ष, ७३ सहायक केन्द्राध्यक्ष, पाँच सय ४४ निरीक्षक, एक सय तीन सय परीक्षा सहायक र अन्य गरी एक हजार १६ जनशक्ति परिचालन गरिएको छ । परीक्षालाई अनुशासित र मर्यादित बनाउन सबैसगँ समन्वय गरिएको उहाँले बताउनुभयो ।

एक छात्रले प्रहरी हिरासतबाटै परीक्षा दिए

यस्तै सर्लाहीमा एक छात्रले प्रहरी हिरासतबाटै एसइई परीक्षा दिएका छन् । बागमती नगरपालिका–२ निवासी एक छात्रले इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाटै परीक्षा दिएको इलाका प्रहरी कार्यालयका प्रमुख अनिलराज गिरीले जानकारी दिनुभयो ।

आफ्नै आमाको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनका लागि हिरासतमै परीक्षाको व्यवस्था मिलाइको प्रहरीले जनाएको छ ।  रासस