२०८१ बैशाख १५ , शनिवार

सेवाग्राहीलाई प्रहरीको ‘भिजिटिङ कार्ड’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले लक्षित समुदायलाई सेवामा प्राथमिकता दिन ‘भिजिटिङ कार्ड’ को व्यवस्था गरेको छ । अल्पसङ्ख्यक, महिला तथा बालबालिका र अपाङ्गता भएका सेवाग्राहीका लागि तीन किसिमको भिजिटिङ कार्डको व्यवस्था गरिएको छ ।

अल्पसङ्ख्यकलाई रातो, वुद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई पहेँलो र महिला तथा बालबालिकालाई सेतो भिजिटिङ कार्डको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक मदन कुुँवरले जानकारी दिनुभयो । “ प्रहरी सेवामा लक्षित समुुदायको पहुँच बढाउन यो व्यवस्था गरिएको हो”, उहाँले भन्नुभयो, “राज्यको नीति र व्यवहारिकता हेरेर लक्षित समुदायका सेवाग्राहीको कामलाई प्राथमिकता दिएका छौँ ।”

पछिल्लो १४ महिनाको अवधिमा अदालतको फैसला कार्यान्वयनमा जिल्लामै पहिलोपटक ठूलो रकम बराबरको जरिवाना र कैद असुलउपर गरिएको प्रहरी नायव उपरीक्षक कुुँवरले बताउनुभयो । अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेका ७४ जनालाई पक्राउ गरी कैद सजायका साथै रु एक करोड १२ लाख जरिवाना असुलउपर गरेको हो ।

प्रविधियुक्त अनुसन्धान र शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न विभिन्न निकायसँग आवश्यक समन्वय गरी गलेश्वरमा ६, बेनीको गणेशटोलमा दुई तथा कारागार कार्यालयमा दुई सिसिटिभी जडान गरिएको छ । हालसम्म म्याग्दीका सार्वजनिक स्थलमा ७७ सिसिटिभी जडान गरिएको प्रहरी नायव उपरीक्षक कुुँवरले बताउनुभयो ।  रासस