
सुनाखरी न्युज/ काठमाडौं।
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उहाँले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्य वृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाउने बताएका हुन् ।
मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हित सम्बन्धी कामलाई परिणाममुखी बनाइने बताए। उहाँले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जवाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारी समेत गरिएको दोहोर्याए ।
उहाँका अनुसार तीनै तहका सरकारबाट नियमित बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ताको उजुरी तथा गुनासो व्यवस्थापन गरिने छ । मन्त्री भण्डारीले व्यावसायिक नैतिकता सहितको उत्पादन तथा बिक्री वितरणको वातावरण निर्माण गरी आर्थिक गतिविधिलाई तीव्रता दिनु अहिलेको प्राथमिकता रहेको बताए।
कार्यक्रममा विभागका प्रमुख जितु गौतमले तरकारीमा विषादीको परीक्षणविना भारतबाट तरकारी आयात भइरहेको उल्लेख गर्दै विषादीको परीक्षण नगरी तरकारी तथा फलफूलजन्य वस्तुको आयात पूर्णरूपले प्रतिबन्ध लगाइनुपर्ने बताए । उहाँले बजारमा विभिन्न वस्तु र सेवामा भइरहेको कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि, एकाधिकार, मिलेमतो, गुणस्तरहिन वस्तुको बिक्री, भ्रमपूर्ण विज्ञापन र नापतौल ठगीको कडाइका साथ नियन्त्रण गरिनुपर्नेमा जोड दिए ।