२०८३ जेठ १० , आइतवार

शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सहकारीपीडितका समस्यादेखि विकास निर्माणका काममा ढिलाइ भइरहेकोलगायत विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अजयकुमार चौरसियाले सहकारीबाट ठगिएका पीडितहरु आन्दोलनमा रहेको विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अञ्जनी श्रेष्ठले चाँडो चाँडो सरकार परिवर्तन हुँदा नागरिक तहबाट सरकार र राजनीतिक दलमाथि विश्वास घट्दै गएको धारणा राख्नुभयो । सांसद अनिशा नेपालीले बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा महँगो ब्याज र चर्को सेवा शुल्क लिएको विषयमा नियामक निकायको ध्यानाकर्षण गराउनुभयो ।सांसद अब्दुल खानले सरकारी स्वास्थ्य सेवा प्रवाह कमजोर रहेको विषय उठाउनुभयो । बाँके जिल्लाको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु निजी क्लिनिकमा काम गर्ने गरेको आरोप पनि उहाँले लगाउनुभयो । सेवाग्राहीले सहज रुपमा उपचार सेवा नपाएको विषयमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अमनलाल मोदीले बजेट अभावका कारण हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भइरहेको विषय उठाउनुभयो । काठमाडौँको रत्नपार्कस्थित खुलामञ्चलाई अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्ने नभई त्यसलाई खुला राखिनुपर्ने धारणा उहाँले राख्नुभयो ।सांसद अम्बिका बस्नेतले इपिएस कोरियाका परीक्षार्थीले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग राख्नुभयो ।

सांसद अम्मरबहादुर थापाले वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमअन्तर्गतका ठेक्का समयमा लाग्न नसक्दा विकासका काममा अवरोध भइरहेको बताउनुभयो । काम गरेका निर्माण व्यवसायीले भुक्तानी नपाएको विषयमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।पछिल्लो समय लागुऔषध ओसारपसार र त्यसको कारोबार बढेको विषय सांसद अमरेशकुमार सिंहले संसद्मा उठाउनुभयो । विदेशी नागरिक पनि लागुऔषध कारोबारमा लागिरहेको उहाँको भनाइ छ ।

सांसद अमृतलाल राजवंशीले झापा, मोरङ, सुनसरीलगायत जिल्लामा हात्तीको आक्रमणमा परी पछिल्लो छ महिनामा छ जनाको ज्यान गएको विषय उठाउनुहुँदै यो समस्या समाधानका लागि सरकारसँग माग गर्नुभयो ।कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताको क्षेत्रमा राख्नुपर्ने माग सांसद अमृतादेवी अग्रहरिले संसद्मा उठाउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रलाई सरकारले पर्याप्त बजेट नछुट्याएको उहाँको भनाइ छ ।

तस्करी, अवैध कारोबारलगायत गतिविधिमा उच्चपदस्थ व्यक्तिहरु संलग्न भइरहेको धारणा सांसद अर्जुननरसिंह केसीले राख्नुभयो । अवैध सुन कारोबारसम्बन्धी छानबिनका लागि गठन गरिएका हालसम्मका समितिका प्रतिवेदनहरु सार्वजनिक गरिनुपर्ने उहाँको माग थियो । एनसेल शेयर खरिदबिक्री प्रकरणबारे गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सडक दुर्घटना बढिरहेको विषयमा सांसद अशोककुमार चौधरीले संसद्मार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । विभिन्न सडक खण्ड निर्माणमा ढिलाइ भइरहेको विषय पनि उहाँले संसद्मा उठाउनुभयो ।सांसद अस्माकुमारी चौधरीले चाँडो चाँडो सरकार परिवर्तन हुँदा नागरिकमा सरकारप्रति वितृष्णा जाग्दै गएको उल्लेख गर्नुहुँदै यो सरकारले जनभावनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

सांसद असीम शाहले संसद्मा आफ्ना आसन परिवर्तन भए पनि भाषण परिवर्तन नहुने बताउनुभयो । आफ्नो दल सत्तापक्षमा रहे पनि संसद्मा प्रश्न उठाउने र खबरदायी गर्ने दायित्व नबिर्सने उहाँले स्पष्ट पार्नुभयो ।सांसद ईश्वरबहादुर रिजालले दोलखा भीमसेन मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि स्थानीय तहबाट पहल भइरहेकामा सङ्घ र प्रदेश सरकारले पनि त्यसमा सहयोग र समन्वय गर्नुपर्ने बताउनुभयो ।

रोल्पा जिल्लामा दुईवटा सुनखानी दर्ता भएकामा त्यसको उत्खननको प्रक्रिया अघि बढाउनुपर्ने धारणा सांसद ईश्वरी घर्तीले संसद्मा राख्नुभयो । सांसद ईश्वरीदेवी न्यौपानेले पब्जी, फ्रिफायर जस्ता इस्पोर्टस्को प्रयोगले बालबालिकाको मनोविज्ञानमा ठूलो असर गरेको विषय उठाउनुहुँदै यस्ता खेललाई व्यवस्थित गर्ने विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।सांसद उर्मिला थेवेले ताप्लेजुङ जिल्लाका वनमा डढेलो लागिरहेको र त्यसका नियन्त्रणको पर्याप्त प्रयास हुन नसकेको विषयमा ध्यानाकर्षण गराउनुभयो । मुलुकको अर्थतन्त्रका तीनखम्बामध्ये एक सहकारी क्षेत्र धराशयी भइरहेको विषयमा सांसद उर्मिला माझीले सरकारको ध्यानाकर्षण गर्नुभयो ।

राजधानी जोड्ने मुख्य सडक नाकामध्ये नौबिसे–नागढुङ्गा–थानकोट खण्ड जीर्ण अवस्थामा रहेको विषय सांसद एकनाथ ढकालले उठाउनुभयो । यो सडक तत्काल मर्मतसम्भार गर्नुपर्ने भन्दै उहाँले संसदमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।सुन तस्करी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका विषयलाई सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न सांसद ऐनबहादुर शाही ठकुरीले माग गर्नुभयो । सहकारीपीडितका समस्यामा गम्भीर हुन पनि उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो ।

संसद्भित्रै महिला सांसदलाई होच्याउने शब्द प्रयोग भएको विषयमा सांसद कल्पना चौधरीले ध्यानाकर्षण गराउनुभयो । अहिलेको सरकारमाथि कानुनी र नैतिक प्रश्नहरु रहेको धारणा सांसद कान्तिका सेजुवालले राख्नुभयो । अहिलेको सरकार गठनमा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) देखिएको बताउनुभयो ।

भ्mापाको दक्षिण पश्चिम क्षेत्रमा कन्काई नदीको कटानले समस्या सृजना गरेको विषय सांसद कालुराम राईले संसद्मा उठाउनुभयो । सांसद किरणकुमार साहले स्थानीय निकायले बनाइरहेका कानुनमा एकरुपता हुन नसकेको बताउनुभयो । आफ्नो बचत फिर्ताका लागि आन्दोलन गरिरहेका सहकारीपीडितको समस्या समाधानका लागि सांसद कुसुमदेवी थापाले सरकारसँग माग गर्नुभयो ।सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को रणनीतिक सडक निर्माणका लागि रु २० करोड विनियोजन भएको र ठेक्का समेत लागिसकेमा अहिले निर्माण व्यवसायी काम छोडेर बेपत्ता भएको बताउनुभयो । काठमाडौँको स्युचाटारदेखि भीमढुङ्गासम्मको सडक निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनीलाई खोजिदिन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको काममा ढिलाइ भइरहेको विषय सांसद गोकुलप्रसाद बास्कोटाले संसद्मा राख्नुभयो । यो आयोजनामा लागत र समयसमेत बढिरहेको उल्लेख गर्नुहुँदै अविलम्ब आयोजना सम्पन्न गर्नका लागि उहाँले माग गर्नुभयो ।मुलुकमा बेराजगारी बढेको विषय सांसद गोमा लाभ सापकोटाले संसद्मा उठाउनुभयो । रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ताका लागि सरकारले उल्लेख्य पहल गर्न नसकेको उहाँको भनाइ छ ।

सांसद गङ्गा कार्कीले सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजन निःशुल्क हेर्न पाउनुपर्ने बताउनुभयो । बर्खेबाली लगाउने बेला भइसक्दा रासायनिक मलको उपलब्धता के–कति छ भनेर सरकारले संसद्लाई जानकारी गराउन पनि उहाँले माग राख्नुभयो ।सांसद गङ्गाप्रसाद यादवले तराईका जिल्लामा आगलागीका घटना बढिरहेको र पीडितले राहत तथा क्षतिपूर्ति पाउन नसकेको बताउनुभयो । मानव अङ्ग प्रत्यारोपणका लागि कानुनी जटिलता रहेको विषय उठाउनुहुँदै सांसद चन्दा कार्की भण्डारीले यसमा सहजीकरणका लागि आग्रह गर्नुभयो । मानव अङ्ग प्रत्यारोपणसम्बन्धी एकीकृत नीतिको आवश्यकता रहेको उहाँको भनाइ छ । सहकारी गुठी र अवैध सुन तस्करीमा लागेकाहरुलाई सरकारले संरक्षण गरेको आरोप सांसद चन्दा चौधरीले लगाउनुभयो ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितले पर्याप्त राहत र पुनःस्थापना रकम पाउन नसक्दा हिउँदको समय कष्टकर रुपमा बिताएको र अहिले गर्मी तथा बर्षायाममा पनि समस्या भोग्नुपर्ने अवस्था रहेको धारणा सांसद चन्द्रबहादुर विश्वकर्माले राख्नुभयो । पुनः निर्माणको काममा ढिलाइ गर्न नहुनेमा पनि उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो ।   रासस