२०८१ जेठ ५ , शनिवार

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकारको उपरोक्त प्रयासहरुका बावजुद रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकहरुले ज्यान गुमाउनु भएको दुस्खद समाचार प्राप्त भएको छ।मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो ।परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्र राष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको बेहोरा स्पष्ट नै छ।

त्यसैगरी,  मन्त्रालयले मिति २०८०/०८/१८ तथा मिति २०८०/०९/०४ मा प्रकाशित गरेका प्रेस विज्ञप्तिहरु माफर्त सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नुपरेमा No Objection Certificate(NOC)लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाइएको पनि विदितै छ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको प्रेस विज्ञप्ति माफर्त  जनाए।यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुन :अनुरोध गरिएको बताए ।

सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो । योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २० पुगेको छ ।