२०८१ बैशाख २२ , शनिवार

एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो ।

पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि दृष्टिगत गर्दै दस्तावेज लेखनलाई केही परिमार्जन गरिने पार्टीले जनाएको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिने जनाइएको छ । बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने छ ।

पार्टीको वैचारिक, साङ्गठनिक, समाजवादी कार्यक्रम, विधान, भावी कार्ययोजना तथा रणनीतिलगायत विषयलाई उल्लेख गर्नेगरी यही फागुन मसान्तभित्र लेखनको कार्य सम्पन्न गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्य तोकिएको छ ।

सबै पक्षलाई समेटेर प्रतिवेदन तयार भएपछि त्यसलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ । रासस