२०८१ जेठ ५ , शनिवार

नारी दिवसः महिला खेलाडीलाई सम्मान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आज एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवस देशका साथै विश्वभर मनाइँदै छ । दिवसका अवसरमा विभिन्न सङ्घसंस्था एवं निकायले महिलाका हकहितका साथै सचेतनामूलक विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।

यस वर्ष पाल्पाको रामपुर नगरपालिकाले महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । खेलक्षेत्रमा हौसला बढाउन लुम्बिनी प्रदेशको महिला भलिबल समूहलाई नगदसहित सम्मान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।नगरप्रमुख रमणबहादुर थापाले रामपुरमा खेलका लागि विभिन्न पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो । उहाँले नारी दिवसका अवसरमा महिला खेलाडीलाई सम्मान गरिएको भन्दै यसले खेलप्रति महिलालाई आकर्षित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरप्रमुख थापाले नगरभित्र दुईवटा कवर्डहल निर्माण भइरहेको भन्दै आगामी वर्ष भलिबल स्टेडियम निर्माणका लागि रू एक करोड विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । क्षेत्रीयस्तरको रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिए पनि बजेट धेरै लाग्ने हुँदा स्थानीय तहले मात्र सम्भव नभएको उहाँले बताउनुभयो ।

पछिल्लो समय खेलमा महिलाको आकर्षण बढ्दै गएको हँुदा प्रोत्साहन गर्दै यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा भलिबल खेलाडीलाई सम्मान गरिएको नगर उपप्रमुख बालकुमारी थापाले बताउनुभयो ।

रामपुरमा हालै सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल टिमलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो । उक्त प्रतियोगितामा एपिएफ पहिलो, बागमती दोस्रो र लुम्बिनी तेस्रो भएको थियो । तेस्रोका लागि भएको खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएर लुम्बनीले जित हासिल गरेको थियो ।

लुम्बिनीकी मीना सुनार खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नगरपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिक, श्रमिक, कृषि, उद्यमी, पशुपालन, विभिन्न पेसा, व्यावसायमा आबद्ध महिला, महिला सञ्चारकर्मीलगायतलाई सम्मान गरिसकेको छ । आज विश्वभर ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।  रासस