२०८१ बैशाख १९ , बुधवार

मादी नदीको ‘आर्क डिजाइन’ पुल: १२ प्रतिशत प्रगति

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी उक्त पुल निर्माण भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले व्यास नगरपालिका–५ स्थित सडक डिभिजन कार्यालय पछाडितर्फको भागमा काम सुरु गरेको छ । उहाँले भन्नुभयो, “हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ । पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको छ ।”

पाण्डेका अनुसार पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय यहाँबाट विस्थापित हुने भएको छ । जग निर्माणको काम पूरा भएपछि त्यसभन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उक्त पुलको छ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ ।तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

सडकको काम तीव्र

मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा हालसम्म ५० प्रतिशत काम सकिएको छ । आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा ५०.८९ प्रतिशत काम सकिएको इञ्जिनियर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किमी दुईतर्फी र आठ किमी एकतर्फी खण्ड कालोपत्र सकिएको उहाँले जानकारी दिनुभयो । आगामी वैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ ।

“त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ”, पाण्डेले भन्नुभयो । उहाँका अनुसार दमौली बजारमा ७५ घरटहरा हटाइनेछ । अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुन नसकेकामा अहिले घरधनीले घर भत्काउने काम गरिरहेकाले उक्त खण्डमा पनि कामले गति लिने पाण्डेले बताउनुभयो ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ । पोखरा खण्डमा पनि केही दूरीमा कालोपत्र भएको छ । पश्चिम खण्डमा हालसम्म छ किमी एकतर्फी सडक कालोपत्र भएको छ ।

पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले यो खण्डमा पनि कालोपत्रको कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति भएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले विसं २०८१ भदौसम्म निर्माण सम्पन्न गर्नेगरी पाएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रू सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो ।  रासस