२०८१ बैशाख १९ , बुधवार

मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नयाँ सत्ता गठबन्धनका तर्फबाट नवनियुक्त १६ मन्त्रीहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गरेको मन्त्रिपरिषद विस्तारअनुसार शपथ लिन बाँकी १६ मन्त्रीले बुधबार शपथ लिएका हुन्। २० सदस्यीय मन्त्रिमण्डलमा एक जना प्रधानमन्त्री दाहाल आफैँ छन् भने तीन जनाले सोमबार नै शपथ लिइसकेका छन्। प्रधानमन्त्री दाहालको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुले बुधबार राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।
सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् ।त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् ।शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचनाप्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।