२०८१ बैशाख १७ , सोमवार

शालिन मृत्यु प्रकरण किन बन्यो रहस्यमय ?

salin

सुनाखरी न्युज/ काठमाडौँ ।

१४ वर्षीया छात्रा शालिन पोखरेलको  रहस्यमय मृत्युको बिषयमा गम्भीर रूपमा थप अनुसन्धान कार्य भइरहेको छ। छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको प्रहरीले जानकारी दिएको हो ।

फागुन १२ गते बिहान १०:३० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल सोही बोर्डिङ स्कुलको होस्टेलको अन्य साथीहरू सहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् । घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

हाल सो घटनाको गम्भीर रूपमा थप अनुसन्धान कार्य भइरहेको उनको भनाई छ। ‘बालबालिकाको मृत्यु जस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भई रहेको र वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनिएको छ ।