२०८१ बैशाख १७ , सोमवार

बाँसबारीको जग्गाबारे मालपोतको फाइल झिकाउन सर्वोच्च अदालतको आदेश

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ ।अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.को नाममा रहेको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मालपोतको फाइल झिकाउने आदेश दिएको हो ।

मालपोत कार्यालय, डिल्लीबजारले २४ माघमा च्याम्पियन फुटवेयर प्रा.लि.को नाममा दर्ता कायम रहेको जग्गा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्राअनुसार ‘सरकारका नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन’ भन्दै सञ्चालक समितिका सीजी चाँदवाग रेसिडेन्सी प्रा.लि.लाई पत्र काटेको थियो ।

सीआईबीले १८ फागुनमा च्याम्पियन फुटवेयर प्रा.लि. (हालको सीजी चाँबाग रेसिडेन्सी प्रा.लि.) का सञ्चालक एवं शेयर धनी अरुणकुमार चौधरी, सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले सुरूमा चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

गत माघ २२ गते म्याद थपका लागि अदालतमा पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनमा अनुसन्धान सके पेस गर्नु, नसके हाजिर जमानीमा छाड्न आदेश दिएका थिए। आदेशअनुसार माघ २४ गते उनीहरू सिआइबी हिरासतबाट मुक्त भएका थिए। यसपछि गृह प्रशासनले हडपिएको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालेको थियो ।