२०८१ बैशाख २२ , शनिवार

राष्ट्रियसभामा सांसदको अनुभवः देश तथा जनताको पक्षमा काम गर्न सकियो भन्ने लाग्छ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आफ्नो कार्यकालको अनुभव सुनाउँदै सभाको गरिमा बढाउनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।सांसद अनिता देवकोटाले राष्ट्रियसभा विज्ञ र स्थायी सभा भएकाले देश तथा जनताको पक्षमा काम गर्न सकेको धारणा राख्नुभयो । उहाँले कुन सांसदले कति वटा पुल बनाए ? कति किलोमिटर सडक निर्माण गरे ? भन्ने आधारमा मूल्याङ्कन गर्न नहुने बताउनुभयो । “के कस्ता राम्रा कानुन निर्माण गरे र त्यसमा के कस्तो भूमिका निर्वाह गरे भन्ने आधारमा मूल्याङ्कन गरिनु राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले संविधानले प्रदत्त गरेका मौलिक हक कार्यान्वयनमा जान नसकेको तथा आवश्यक कानुन निर्माण हुन नसकेकामा गुनासो गर्नुभयो । उहाँले कर्णाली प्रदेशको विकास र समृद्धिको अभियानलाई थप व्यवस्थित बनाउन र यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद जीतेन्द्रनारायण देवले संविधान निर्माणका क्रममा राष्ट्रियसभाका सन्दर्भमा उठेको विषयलाई स्मरण गराउँदै पार्टीका शीर्ष नेताहरुको धारणा स्पष्ट हुन नसकेको गुनासो गर्नुभयो । उहाँले राष्ट्रियसभाको काम कारबाहीबारे सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रतिनिधिसभाको बैठक चलेका दिन आफूहरुको काम कारबाहीको समाचार कम आउने गरेको बताउनुभयो ।

सांसद रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाले सहजरुपमा कानुन निर्माण गरेको, समितिले पनि प्रभावकारी काम गरेको जानकारी दिँदै आफूले सदनमा जनताको पक्षमा नै उभिने प्रयास गरेको बताउनुभयो । संविधान र सङ्घीय शासन प्रणालीलाई कार्यान्वयन गराउनका लागि आफूले सकेसम्म भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।

सांसद रामचन्द्र राईले जनसरोकारका विषयमा आफूले इमान्दार भएर आफ्ना कुरा राखे पनि सरकारको तर्फबाट सम्बोधन हुन नसकेको बताउनुभयो । सांसद बिना पोखरेलले आफ्नो कार्यकालमा देश र जनताको पक्षमा सकेसम्म भूमिका निर्वाह गर्ने प्रयास गरेको बताउनुभयो । सांसद डा विमला राई पौड्यालले राष्ट्रियसभालाई सिकाइको एउटा विश्वविद्यालयको संज्ञा दिँदै आफूले धेरै कुरा सिक्न पाएको बताउनुभयो ।   रासस