२०८१ बैशाख २५ , मंगलबार

बच्चा चोरिएको घटनामा पक्राउ महिला अस्पताल भर्ना

sesu

सुनाखरी न्युज/ काठमाडौं ।

परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् ।

उच्च रक्तश्राब भएपछि दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलरस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पुष्टि गरे ।

 

शुक्रबार मध्याह्न १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु हराएको थियो ।

शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

 

त्यसपछि प्रहरीले सिंह, उनका पति र दिदीलाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरी नियन्त्रणमा रहेकै बेला उच्च रक्तश्राब भएपछि उनलाई अस्पताल लगिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन् । तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन् ।

यसबारे उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ । बच्चा जन्मिएको भनेर खबर गरेपछि नेपाली सेनाको ड्यूटीमा रहेका उनका श्रीमान पनि घरमा आएका रहेछन् ।

‘प्रहरी पुगेपछि मात्रै बच्चा आफ्नो नभएको उनले थाहा पाएका हुन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सुरुमा उनी आफ्नै बच्चा भनेर दंग परेर बसेका रहेछन् ।’

पटकपटक गर्भपतन गर्नुपरेपछि उनी विक्षिप्त रहेको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको उनीहरुको भनाइ छ । उनले अहिले पनि बच्चा आफ्नै भएको दाबी गरिरहेकी छिन् ।