
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताउनुभएको छ ।अछाम वैद्यनाथधाम कोटीहोम महायज्ञसहितको महाकुम्भ मेलाको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य भएको बताउनुभएको हो ।
“सबै धर्म, संस्कृतिको संरक्षण गर्ने संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । अधिकारका विभिन्न किसिम उल्लेख गरेर सबैले अधिकारको स्वतन्त्रता उपयोग गर्ने विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
“स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु–सम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रुप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
यस क्षेत्रको विकास, संरक्षण र संवर्द्धनका लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुनःनिर्माणलगायत काम हुनु खुसीको कुरा भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरेर अल्प, मध्य र दीर्घकालीनरूपमा नै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
तीनै तहका सरकारले बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरी देश विकासमा योगदान पुर्याउन सकिने राष्ट्रपति पौडेलको भनाइ थियो ।शिवरात्रि, मकर सङ्क्रान्ति, विषु, होरीपर्व, दसैँ, श्रावण स्नान, बोलबमलगायत वर्षभरि हुने पर्वपूजा यहाँ धुमधामका साथ मनाइने गरिनुले पनि यसप्रतिको आकर्षण सदैव जीवन्त रहिआएको उहाँले राष्ट्रपति पौडेलले बताउनुभयो ।
“यसलाई थप आकर्षण केन्द्र बनाएर लाखौँ पर्यटक भित्रयाउने सम्भावनाप्रति सबैको ध्यानाकर्षण गराउँदछु । यसबाट वैदिक सनातन धर्म संस्कृतिको संरक्षण, लोकसंस्कृतिको प्रदर्शन, वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरी आयुर्वेद मावि बनाउने र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।
छ/छ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२–१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र एक सय ४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ यो कुम्भमेला आयोजना गरिएको जनाइएको छ ।
राष्ट्रपति पौडेलले यो पवित्रस्थल तीर्थाटनबाटै आकर्षक पर्यटन केन्द्र बनेको बताउँदै यसप्रकारको धार्मिक कार्यक्रम गरेकामा सुदूरपश्चिम क्षेत्रका सबै धन्य भएको बताउनुभयो । उहाँले हिमालहरूको बीच ऋषिहरूको तपस्याभूमि र देवीहरूको मन्दिरले भरिएको पवित्र भूमिमा उभिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको पनि बताउनुभयो। रासस