२०८१ बैशाख १७ , सोमवार

पुनःनिर्माणकै आशामा बित्यो मदन स्मारकको आठ वर्ष

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर महानगरपालिका कार्यालय छेउमै २०११ सालमा स्थापना भएको मदन स्मारक माध्यामिक विद्यालय छ । जगदम्बा कुमारीदेवीले आफ्ना श्रीमान् मदन शमशेरको सम्झनामा स्थापना गर्नुभएको उक्त विद्यालयको नाममा २७ रोपनी जमिन भए पनि अहिलेसम्म सोचेजस्तो स्तरोन्नति गर्न सकिएको छैन ।

विद्यालय स्थापना हुँदा निर्माण भएको २४ काठे राणकालीन भवन हाल जीर्ण छ । विसं २०७२ को भूकम्पले उक्त विद्यालयको तीन वटा भवनमा क्षति पु¥याएपछि जोखिमको मूल्याङ्कन गरेर रातो स्टिकर टाँसिएको थियो । दुईवटा भवन हाल प्रयोगमा छैनन् । अर्को चर्किएको भवनमा भने रातो स्टिकर टाँसेपनि पठनपाठन हुने गरेको छ ।

भूकम्पले क्षति पु¥याएको भवनमा रातो स्टिकर टाँसिएपछि पुनःनिर्माणको आशामा दुई वर्षसम्म टहरमा पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जगदम्बा कुमारी देवीको २०४५ सालमा निधन भएपछि नेपाल सरकारका तर्फबाट प्राप्त रु ५० हजारबाट भवन निर्माण पुनः निर्माण गरिएको थियो ।

हालसम्म सरकारले विद्यालयको स्तरोन्नतिका लागि खासै चासो देखाएको छैन ।”भूकम्पले क्षति पु¥याएको भवनमा अहिले विद्यार्थी अध्ययन गरिरहेका छन् । विसं २०११ देखियता छाना फेरिएको छैन । वर्षा सुरु हुने वित्तिकै कक्षा कोठामा पानी चुहिन थाल्छ । भूकम्प गएको आठ वर्ष पुग्न लागिसक्यो अझै पुनःनिर्माणको सुर छैन ।

विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल भन्नुहुन्छ, “यदि सरकारले विद्यालयको भौतिक संरचनासहित स्तरोन्नतिमा चासो देखाएमा यस विद्यालयलाई नमूना सरकारी विद्यालय बनाउन सकिन्छ । विद्यालय ललितपुरको केन्द्रमा रहेको र विद्यालयको नाममा २७ रोनी जमिन रहेको हुँदा सरकारी लगानीमा नमुना सरकारी विद्यालय बनाउन सकिन्छ ।”हाल यस विद्यालयमा कक्षा एकदेखि १२ सम्म जम्मा ६०० विद्यार्थी छन् । कक्षा छ देखि १२ सम्म विद्यार्थीको भर्ना सङ्ख्या ठीकै भए पनि बालविकासदेखि कक्षा पाँच सम्मको भर्ना सङ्ख्या त्यति चित्तबुझ्दो छैन ।

बालबिकासदेखि कक्षा पाँचसम्म विद्यार्थीहरुको भर्ना दर चित्तबुझ्दो नहुनुको पछाडिको कारण सरकारी स्कुलप्रतिको बुझाइ र गलत प्रचार रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारी स्कुलको शिक्षा राम्रो भए पनि गलत प्रचार गरिएको छ । सेवा सुविधाको हिसाबले निजी स्कुलभन्दा सरकारी स्कुल धेरै माथि छ ।  रासस