२०८१ बैशाख २१ , शुक्रवार

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त, को हुन उनी ?

chandika-bhatta

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

डा. भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । उनी कार्यकारी निर्देशक हुँदा २०७१ असोज १३ गते आयल निगमले स्वचालित मूल्य प्रणाली शुरु गरेको थियो ।

 

उनी दुईपटक विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका छन् । अहिले पनि उनी सेज प्राधिकरणको कार्यकारी निर्देशककै रुपमा कार्यरत छन् । अध्ययनका हिसाबले भट्ट इञ्जिनियर हुन् ।

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले कार्यकाल नसकिँदै राजीनामा दिएपछि पद खाली थियो । सरकारले गठन गरेको सिफारिस समितिमा १३ जनाले आवेदन दिए पनि समितिले भट्टसहित डा. डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीलाई सिफारिस गरेको थियो ।