२०८१ बैशाख १८ , मंगलबार

नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने: प्रहरी महानिरीक्षक कुँवर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८० एवम् कार्य सम्पादन सम्झौता अनुरूप सांगठनिक लक्य् प्राप्तिको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्न आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ गुणत्मक काम गर्नुपर्ने बताउनुभयो । संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै उहाँले व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई जनपक्षिय काम गर्न निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । मिटरव्याजी, लागूऔषध तथा अन्य तस्करी नियन्त्रणको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।