२०८३ जेठ १२ , मंगलबार

कारगारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारलाई सुधार र सिकाइको केन्द्रका रुपमा लिनुपर्ने बताउनुभएको छ ।जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित ‘डवल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गर्दै उहाँले यहाँबाट सिकेको ज्ञान र सीपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले कारगारमा दिने परम्परागत सीपलाई आधुनिकीकरण गर्न प्राविधिक अध्ययन गरिरहेको जानकारी दिँदै बन्दीद्वारा उत्पादित सामग्रीको बजारीकरण तथा पहँच विस्तार गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले बन्दीहरुको मानव अधिकारको संरक्षण, स्वास्थ्य सेवा, कानुनी सहायताका सम्बन्धमा प्रदेश सरकारले चाँडै अवधारणा ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले कारागारलाई होस्टलका रुपमा सम्झन आग्रह गर्दै यहाँबाट सिकेका सीपलाई साना उद्यमीका रुपमा विकास गर्नुपर्ने भन्दै आवश्यक पूँजीको व्यवस्थाका लागि सरकारले सहजीकरण गर्ने बताउनुभयो ।कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहालले कैदीबन्दीको सेवा सुविधा वृद्धि, थप बजेटको व्यवस्था, नीति निर्माणमा जोड दिएको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ कारागारका प्रमुख कृष्णहरि न्यौपाने कैदीबन्दीको सेवा सुविधा वृद्धिका लागि आवश्यक पहल भइरहेको बताउनुभएको थियो । सोही अवसरमा कैदीबन्दीले महानिर्देशक दाहाल समक्ष आफ्नो समस्या राखेका थिए ।मोरङ कारागारमा हाल ९९ महिला (चार जना बालबालिका आश्रित)सहित एक हजार ३८ कैदीबन्दी छन् ।  रासस