२०८१ जेठ ५ , शनिवार

‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षण सुरु

सुनाखरी न्युज/ काठमाडौं ।
धनगढी उपमहानगरपालिकामा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोटको काम सुरु गरिएको छ ।धनगढी–१८ फुलबारी स्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा केन्द्रबाट प्रारम्भिक रूपमा खेलाडी छनोटको काम सुरु गरिएको हो ।

फूलबारी र जुगेडा केन्द्रबाट प्रशिक्षणका लागि खुला रुपमा आवेदन आह्वान गरिएकामा दुवै केन्द्रमा ७०÷७० छात्रा गरी एक सय ४० जनाले नाम टिपाएका गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत क्रिकेटको सहर धनगढीमा उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।

प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकालाई क्रिकेटर बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई प्रशिक्षक नियुक्त गरिसकिएको जानकारी दिनुभयो ।धनगढी–१२ स्थित श्री सिद्धनाथ मावि जुगेडामा ज्ञानेन्द्र क्षेत्री र धनगढी–१८ स्थित श्री चन्द्रोदय मावि फुलबारीमा देवनारायण झाले प्रशिक्षण गराउने अध्यक्ष शाहीको भनाइ थियो ।

गत माघ ६ गते उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले धनगढीमा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा प्रशिक्षक झा र क्षेत्रीलाई नियुक्त गरिएको जनाइएको छ ।धनगढीका दुई नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ ।  रासस